Skip to main content

आऔं , बिहे हेरौं

एकातिर छोरीको बिहे गरि सामाजिक कार्य पूरा गर्न पाएको खुसीले ढुक्क भएको मन | तर अर्कोतिर संधैका लागि अरु कसैलाई आफ्नो छोरी जिम्मा लगाएर पठाउदाको पिडा | खुसि र पिडाबिचको दोसाँधमा रुमल्लिएका बाबु-आमा |

छोरी र बाबु आमा, अनि केहि नजिकका आफन्त छन् जगियामा | अरु केहि खानकै धुनमा छन | साना भुराहरु उफ्रिदैमा ठिक्क छन | केहि महिलाको जमात दुलहीको गहना, दुलाहाको औंठी इत्यादीको बारेमा कुरा काट्दै छन वा भनौ ‘समिक्षा’ गर्दै छन | दुलहीका साथीहरु एक कुनामा बसेर दुल्हा कति काले, कति फुच्चे भन्दै छन | “अलि अग्लो केटा पाएनन् क्या हो?”, एकले भनि |

एउटा कुनामा म छु | कागहरुको बिचमा बकुल्ला | न मलाई जगियातिर ध्यान छ, न त्यो परको रक्सिको बारमा रुची | खान जाउँ भने भोक लागेको पनि छैन | बेलाबेलामा फोन निकाल्छु, यसो फेसबुक र इन्सटाग्राम चलाउछु | फेरी अल्छी लाग्छ | सबैतिर हेर्न थाल्छु, सबैलाई आलोपालो हेर्न थाल्छु | मनमनै कुराहरु खेलाउन थाल्छु |

हैट ! कति सार्हो अनावश्यक खर्च गर्न सक्या होलान ! आमाबाबुको हातमा पाँचैवटा औंठी छन् क्यारे | दुलहीले पनि महँगो खालको सारी लगाएकी छे | बनारसबाट मगाएर भारतकै प्रसिद्ध डिजाइनर मनिष मलहोत्राले डिजाइन गरेका भन्ने सुने, त्यहि महिला समिक्षक मण्डलको एक सदस्य बाट | घाँटीमा भएको पहेलो गहनाहरु उत्तिकै भारि पनि देखिन्छन | शिरमा शिरबन्दि र चन्द्रमाले सजिएकी छे | सुन्दर देखिएकी छे दुलही नानी | जाबो मेहेन्दी असनको गल्लिमा नै पाइन्छ | नभए राम्रै पार्लरमा गएनि हुने | तर यहाँ त अलि बिशेष नै छ मेहेन्दी पनि, बंगलादेशबाट मगाएका रे | दुल्हालाई दुलहीका आमाबाबुले हालिदिएको दौरा सुरवाल र कोट हेर्दै महँगो देख्छु मेरा आँखाले | यी पनि पक्कै नेपालमा बनेका हैनन् होला | इटालीबाट मगाए कि?

बिहे भैरहेको ठाउँ उत्तिकै फेन्सी छ | पानिका फोहरा, वरीपरि रुखहरु राता, पहेला र निला बतीहरुले सजिएका छन् | छेउमा बच्चाहरुका लागि खेल्ने फन पार्क पनि छ | रक्सि बारको छेउमा डान्स गर्ने रुम रहेछ, त्यो पनि कुनै फेन्सी डिस्कोथेक भन्दा केहि कम छैन |

बुझ्दिन म यो झकिझकाउ र (देखावटी) सजावट | केका लागि? कसका लागि? सस्तो कपडा लगाउदैमा , गहना नलगाउदैमा, फेन्सी, महँगो पार्टी प्यालेसमा बिहे नगर्दैमा, पाहुनालाई बुफे भोज नखुवाउदैमा छोरीको बिहे सफल नहुने हो र? ठुलो पार्टी प्यालेसमा बुफे खुवाउदैमा पाहुनाहरुले धेरै आशिर्वाद दिने हुन् र? ज्वाईका इष्टमित्रलाई गिफ्ट नदिदैमा छोरी नलिने हुन् र? हो, भने ठिकै छ | त्यो बढी आशिर्वादका लागि यति खर्च |

“तेरो बाउको पैसा खाइदया छ र? तेरो पैसाले बिहे खर्च टार्या हो र? कति बरबराई रहेको? चुप लागेर बस|”, मेरो मनभित्रको अर्को काल्पनिक पात्रले थर्काउछ मलाई |
हो, मेरो बाउको पैसा खाएर यिनीहरुले खर्च गरेका छैनन् | कसैको लुटेर गरेका पनि होइनन होला |तर किन मलाई संधै यस्तो टाउको दुखाई, अर्काको कुरामा? अरु खुसि छन भने म किन आफू बाठो पल्टीनु?

खै!

यो सांचिकै देखावटी नै हो कि मलाई लागेको मात्र? कतै म धेरै आदर्शबादी त हुन खोजिरहेको छैन? हो, म अरुभन्दा फरक सोच्छु होला | त्यो मेरो गल्ति होइन, न अरु कसैको !
होला, आमाबाबुले आफ्नी एक्ली छोरीको यस्तो खुसिको क्षनको निम्ति मनबाटै, स्वेक्षाले खर्च गरेका होलान | देखावटी होइन होला | “तर नगर्दा पनि त हुन्थ्यो नि, होइन र?”, मेरो प्रश्न यति मात्र हो |

“एकचोटी आमाबाबुको जुत्तामा आफुलाई राखेर हेर त!”, अर्को काल्पनिक पात्र मलाई सुझाव दिन्छ |


क्रमशः .......

Comments